बैंकले ऋणको सेवा शुल्क मनपरी उठाउँदै, नाफा घट्ने भएपछि सेवा शुल्कले ग्राहक रेट्दै बैंक
काठमाडौ। एकातिर ब्याजको स्प्रेड दर घटाउनु परेको छ, अर्कोतिर नाफा पनि बृद्धि गर्नु पर्ने छ।
पोहोरको जस्तो ब्यापार ह्वात्तै बढेन। बरु कहिलेकाँही अन्तर बैंक सापटी महँगोमा लिनु पर्यो। शाखा बढिरहेको छ, कर्मचारी थपिएका छन्। खर्च बृद्धि भइरहेको छ।
बैंकले नाफा पनि बढ्ने र स्प्रेड पनि सीमाभित्र ल्याउने नयाँ उपायको खोजि गरेका छन्। तर त्यो उपाय- 'सर्वसाधारण मारा' छ।
पहिलो त्रैमासबाट फाट्टफुट्ट सुरु भएको सेवा शुल्क अहिले अधिकांस बैंकले बढाएर लिन थालेका छन्। राष्ट्र बैंकले सेवा शुल्क कति लिने भनेर स्पष्ट पारेको छैन। यसैको फाइदा उठाउँदै बैंकहरुले सेवा शुल्क मनपरी उठाउन थालेका हुन्।
उदाहरणका लागि, बैंकको आधार दर पनि घटेको छ। अब स्प्रेड साढे चार प्रतिशतमा ल्याउनु पर्ने छ। स्प्रेड घटाउँदा नाफा ह्वात्तै घट्छ। वित्तीय विवरण प्रकाशित गरिसकेका कतिपय बैंकको नाफामै स्प्रेडको असर देखिइसकेको छ।
बैंकहरुले स्प्रेड कम गर्न ऋणको ब्याज घटाउने वा निक्षेपको बढाउने मध्ये एउटा उपाय रोज्नु पर्छ। निक्षेपमा सिन्डिकेट भएका कारण ब्याज बढाउन सकिने अवस्था छैन। त्यही भएर ऋणको ब्याज घटाउनु पर्ने दबाब छ। अहिले कर्पोरेट ऋणीहरुले आधार दर बराबरमै ऋण पाइरहेका छन्।
यसो गर्दा बैंकहरुको आम्दानीमा उल्लेख्य कमी आउने देखियो। उनीहरुले हिजो एक/दुई प्रतिशत सेवा शुल्क भनेर लिन्थे भने अहिले ३/४ प्रतिशत नै लिन थालेका छन्। सेवा शुल्क मनपरी उठाउन थालेको गुनासो राष्ट्र बैंक र अर्थमन्त्रालयमा पुगिसकेकोछ ।
'सबैले होइन केही बैंकले मनपरी गरे भन्ने सुनिएको छ' बैंकर्स संघका एक सदस्य बैंकरले भने, 'औपचारिक गुनासो त हामीलाई पनि आएको छैन। तर यसबारेमा हामीले ग्राहकहरुबाट भने सुनिरहेका छौं।'
सेवा शुल्क मनपरी लिन थालेपछि केही ग्राहक बैंक सर्न थालेका छन्। राजधानीका ग्राहकलाई मनपरी लिँदा चाँडै हल्ला हुने भएकाले यहाँभन्दा मोफसलका ग्राहकमाथि सेवा शुल्कको हतियार चलाउन थालिएको छ।
सेवा शुल्क मनपरी हुन थालेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले यसबारेमा आवश्यक अध्ययन गर्न राष्ट्र बैंकलाई निर्देशन दिइसकेका छन्। दुई साताअघि बैंकर्स संघका पदाधिकारीसँग पनि भेटेर खतिवडाले सेवा शुल्कका बारेमा गम्भीर चासो राखेका थिए।
बैंकरले अहिले स्प्रेड दरमा पनि ग्राहकलाई ठगिरहेका छन्। चालु बर्षको मौद्रिक नीतिबाट सुत्र परिवर्तन गरेर राष्ट्र बैंकले आगामी असार मसान्तदेखि स्प्रेड ४.५ प्रतिशतमा झार्न निर्देशन दिएको छ। बैंकहरुले पुरानो सुत्र अनुसार स्प्रेड झारिरहेका थिए। नयाँ सुत्र लागु भइसकेको र त्यस अनुसार असारपछि मात्र साढे चार प्रतिशतमा झार्ने हो भन्दै बैंकरले अहिले पाँच प्रतिशतमाथि ग्राहकसँग असुली रहेका छन्।
'यस्तो नगरेको भए राम्रो हुन्थ्यो। हामी बैंकरकै कारण पनि कतिपय अवस्थामा हाम्रो विश्वसनीयतामाथि प्रश्न उठिहरेको हुन्छ' ती पदाधिकारीले भने, 'एउटाले विराउँदा सबैलाई पिराउने हुन्छ।'



0 Comments
Please do not enter any spam link in the comment box