फेसबुक, युट्युव र इन्स्टामा बुस्ट गरे कारबाही गर्ने राष्ट्र बैंकको निर्णय, के हुन्छ कारबाही ?
काठमाडौं । सरकारले सामाजिक सञ्जालमा डलर बुस्ट गरे अब कारबाही गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एक सूचनामा फेसबुक, ट्विटर, युट्युव जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी हो भनिएको छ ।
राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले अनौपचारिक माध्यमबाट विदेशिने मुद्रालाई व्यवस्थित गर्न यस्तो व्यवस्था गरिएको हो ।
‘सामाजिक सञ्जालबाट बुस्टका माध्यमबाट विदेशिने मुद्रा अनौपचारिक माध्यमबाट बाहिरियो, अब बैंकिङ प्रणालीमा ल्याउनका लागि यो निर्देशन जारी गरिएको हो,’ उनले भने ।
उनका अनुसार अब सामाजिक सञ्जालमा डलर बुस्ट गरे परे राष्ट्र बैंकबाट स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत् प्रक्रिया पूरा गरी गर्नु पर्नेछ । मिश्रले गैरकानूनी रूपमा त्यसो गरेको पाइए तीन गुणासम्म बिगो वा जरिवाना लाग्नेछ ।
सूचनामा भनिएको छ, ‘यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ र प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।’
कानूनमा के छ ?
विदेशी विनियम २०१९ को दफा १७ बमोजिम बैंकले तोकेको कुनै पनि प्रक्रिया विपरीत कुनै पनि व्यक्तिले कुनै काम गरेमा सो काम गरे वापत कसुरसँग सम्बन्धित विदेशी विनियम जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिवाना लेखी तीन गुणासम्म जरिवाना हुनेछ ।
तर त्यस्तो कसुरसँग सम्बन्धित विदेशी बिनिमय जफत गर्न नमिल्ने अवस्थाको कसुरहरुका सम्बन्धमा सो कसुरसँग सम्बन्धित विदेशी बिनिमयको विगो कायम गरी त्यसरी कायम हुन आएको बिगो बमोजिम जरिवाना बमोजिम बिगोको तीन गुणासम्म थप जरिवाना हुनेछ ।
उप दफा १ बमोजिम बिगो कायम गर्दा रकम खुल्न वा खुलाउन नसकिने अवस्था आइपरेमा कसुरको मात्रा हेरी २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।



0 Comments
Please do not enter any spam link in the comment box